काठमाण्डौ – सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै ‘एक्स’ (पहिलेको ट्विटर) ले नेपालसँग औपचारिक सम्पर्क सुरु गरेको छ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मन्त्रालयले ट्विटरको सिङ्गापुर कार्यालयबाट इमेल पाएको छ। मन्त्रालयले सो इमेलको तत्कालै जवाफ पठाइसकेको भए पनि आवश्यक अन्य कागजात अझै प्राप्त हुन बाँकी रहेको जानकारी उनले दिए।
फेसबुकको तर्फबाट भने आज दिउँसोसम्म कुनै औपचारिक पत्राचार नभएको र बाहिर आएका हल्ला पनि पुष्टि नभएको प्रवक्ता ठाकुरले स्पष्ट पारे।
उनका अनुसार नेपालमा दर्ता नभएका प्लेटफर्महरूले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि मात्रै निष्क्रिय सूचीबाट हटाइनेछ।
सरकारले हिजो मात्र २६ वटा सामाजिक सञ्जाललाई सूचीकरण नगरेसम्म बन्द गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको थियो। तीमध्ये फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब र ह्वाट्सएपजस्ता लोकप्रिय प्लेटफर्म पनि परेका छन्। हाल नेपालमा सूचीकृत सञ्जालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्र रहेका छन्।