नेपालको प्रतिनिधिसभामा सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति कोसँग छ र कहाँ छ भन्नेबारे बहस भएपछि यस विषयले भारतीय विदेश मन्त्रालयमा पनि प्रवेश पाएको छ। मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई नेपालका विदेशमन्त्रीले सुगौली सन्धिको सक्कल प्रति फेला नपरेको अभिव्यक्ति दिएकोबारे प्रश्न सोधिएको थियो।
जवाफमा प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै कतिपय विषयमा असहमति वा मतभिन्नता हुन सक्ने स्वीकार गरे। उनले यस्ता सीमा वा ऐतिहासिक मुद्दासम्बन्धी विषयहरू दुई पक्षीय स्थापित कूटनीतिक संयन्त्रमार्फत छलफल गरी समाधान गर्न सकिने धारणा राखे। सन् १८१६ मा नेपाल र बेलायत शासित भारतबीच भएको सुगौली सन्धिले नै नेपालको पश्चिम-दक्षिण सीमा निर्धारण गरेको थियो।
नेपालले यही सन्धिलाई मुख्य प्रमाण मान्दै २०७७ सालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसमा काली नदी पूर्वको भूभाग नेपालको भएको उल्लेख छ। यसै पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले भारतीय राजदूत र नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच भएको हालैको भेटघाटबारे पनि जानकारी गराएका थिए। दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको जनाउँदै उनले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइसकिएको बताए। शाहले पदभार ग्रहण गरेकै बखत भारतीय प्रधानमन्त्रीका तर्फबाट भ्रमणको निमन्त्रणा पठाइएको र भ्रमणको मिति तथा थप विवरण तय हुनासाथ सार्वजनिक गरिने जयसवालले जानकारी दिए।