विराटनगरमा स्थापित नारी स्रष्टा समाजले काठमाडौंमा कार्यक्रम आयोजन गर्दै साहित्यका विभिन्न क्षेत्रमा क्रियाशील सर्जकहरूलाई सम्मानित गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा समाजले ‘मोहनलता विशिष्ट स्रष्टा सम्मान’ साहित्यकार तुलसीहरि कोइराला, ‘कविराज स्रष्टा सम्मान’ साहित्यकार भीष्म उप्रेती र ‘हेमलता स्रष्टा सम्मान’ साहित्यकार विनोद नेपाललाई समर्पण गरेको छ । पुरस्कारकासाथ कोइरालालाई १५ हजार नगदराशि प्रदान गरियो भने उप्रेती र नेपाललाई ११/११ हजार नगदराशि प्रदान गरियो ।
सोहीअवसरमा समाजले स्रष्टाहरू राधेश्याम लेकाली, मञ्जिला अनिल, बिन्दु अधिकारी ढकाल, रिता खत्री, मीना श्रेष्ठ, निर्मला मुरारीलाई ‘मोहनलता सम्मान’बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले सर्जकहरूलाई सम्मानित गर्दै नारी स्रष्टा समाजले पुरुष सर्जकहरूलाई पनि सम्मानित गर्दै उदाहरणीय कार्य गरेको बताए ।
कार्यक्रममा सम्मानित सर्जकहरू उप्रेती, कोइराला, नेपाल र निर्मला मुरारीले लेखन अनुभूति सुनाएका थिए । सर्जक विनोद नेपालले आफूले प्राप्त गरेको नगदराशि समाजलाई नै समर्पण गरेका थिए ।
