आणविक हतियारको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध बनाउन आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सन् २०१० देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्ट २९ का दिन यो दिवस मनाउन थालिएको हो।
आणविक हतियारले निम्त्याउने भयावह विनाशलाई स्मरण गर्दै यस दिवसमा विभिन्न देशमा चेतनामूलक गतिविधि, सम्मेलन तथा सञ्चारमाध्यममार्फत सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।
यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश दिँदै, “आणविक परीक्षणको ८० औँ वार्षिकोत्सव मनाइरहँदा विगतमा भएका दुई हजारभन्दा बढी परीक्षणलाई विर्सनु हुँदैन। अब उप्रान्त यस्ता गतिविधि कहिल्यै नदोहोरिने प्रतिज्ञा गर्नुपर्छ,” भन्नुभयो।
गुटेरेसले आणविक हतियार विश्व शान्ति र मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सम्पूर्ण राष्ट्रलाई पूर्ण निरस्त्रीकरणतर्फ कदम चाल्न आह्वान गर्नुभयो।
