१० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स ,विदेशी मुद्रा सञ्चितिले रच्यो ३७ खर्ब नाघेर नयाँ इतिहास

वैशाखमा मात्रै भित्रियो २ खर्ब ५७ अर्ब ,एकै महिनामा यति धेरै रकम आएको नेपालकै इतिहासमा पहिलो पटक रेमिट्यान्सले देशको ढुकुटी बलियो बने पनि बजारमा महँगी झन्डै दोब्बरले बढेर जनता मारमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पसिनाका कारण देशको आर्थिक ढुकुटीले नयाँ इतिहास रचेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म मात्रै १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो गत वर्षको तुलनामा ४१.२ प्रतिशतको छलाङ हो। विशेष गरी वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको छ, जुन एकै महिनामा यति धेरै रेमिट्यान्स आएको नेपालकै इतिहासमा पहिलो पटक हो।

यही रेमिट्यान्सको बाढीका कारण देशको विदेशी मुद्रा सञ्चिति ३८.३ प्रतिशतले बढेर ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ भने देशको शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्बले ऐतिहासिक बचतमा छ। १० महिनामा ३ लाख ३५ हजारभन्दा बढी युवाहरू नयाँ श्रम स्वीकृति लिएर खाडी पसेका छन्। रेमिट्यान्सले देशको ढुकुटी बलियो बनाए पनि बजारमा महँगी भने झन्डै दोब्बरले बढेर ५.०४ प्रतिशत पुग्दा सर्वसाधारण जनता भने चर्को मारमा परेका छन्।