काभ्रेको धुलिखेल नगरपालिकाले नगरवासीसँग नेपाली भाषामै सीधा सम्पर्क स्थापना गर्ने उद्देश्यसहित ‘टिङ टिङ’ नामक एआई टेलिफोनी प्रणाली सञ्चालनमा ल्याएको छ।
यो प्रणालीमार्फत कर तिर्ने म्याद, जन्मदर्ता सङ्कलन, स्वास्थ्य शिविरलगायतका महत्त्वपूर्ण जानकारी नगरवासीलाई व्यक्तिगत नामसहित स्वचालित फोन कलमार्फत दिने व्यवस्था मिलाइएको छ। एकैपटक हजारौँलाई सूचना पुर्याउन सकिने भएकाले यसले नगरपालिकाको सूचना आदानप्रदान प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
नगर प्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठले धुलिखेलले एआई प्रयोगमार्फत नेपालको स्थानीय सरकार पनि प्रविधिको दौडमा पछाडि छैन भन्ने देखाएको बताए। उहाँले भन्नुभयो, “एआईको दौडमा सरकार पहिलो हुनुपर्छ, अनि हामी ‘टिङ टिङ’ बाट सुरू गर्दैछौँ। संविधानले स्थानीय सरकारलाई दिएका २२ वटा अधिकार क्षेत्रमा नागरिकलाई सेवा पुर्याउन सहज र सुलभ बनाउने दिशामा यो प्रणालीले ठूलो योगदान पुर्याउनेछ।”
हाल धुलिखेल नगरपालिकामा ३८ हजारभन्दा बढी नगरवासी छन्। नगरपालिकाले टेलिफोन र नेपाली भाषा जस्ता सरल र सबैलाई बोधगम्य माध्यम प्रयोग गरेर सूचना प्रवाह गर्ने भएकाले कुनै पनि नागरिक सेवा–सूचनाबाट वञ्चित नहुने विश्वास गरिएको छ।
धुलिखेल नगरपालिकाको यो पहलले नेपालमा डिजिटल रूपान्तरणको नेतृत्व स्थानीय तहबाटै सम्भव हुने देखाएको छ। यसले अन्य सरकारी निकायहरूलाई पनि प्रविधि अपनाएर नागरिक सेवालाई अझ प्रभावकारी र समावेशी बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।
