काठमाडौँ — शिक्षा मन्त्रालयबाट अनुमति लिई सुरु ‘कान्तिपुर हिसान शैक्षिक मेला’ बिहीबार अपराह्न काठमाडौं महानगरपालिकाले अचानक रोकेको छ । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थी लक्षित राजधानीका ७५ शिक्षण संस्थाको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।
दुई लाख विद्यार्थी तथा अभिभावक आउने अपेक्षासहित सुरु भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकालाई जानकारी दिएर भृकुटीमण्डपमा सञ्चालन भएको थियो । बिहीबार बिहानबाट सुरु मेला बन्द गराउन नगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वको टोली मेलास्थल भृकुटीमण्डप पुगेको थियो ।
एसईई तथा कक्षा १२ को नतिजा सार्वजनिक नहुँदै शैक्षिक मेला आयोजना गरिएको भन्दै रोक लगाएको महानगरको शिक्षा विभागले जनाएको छ । विभाग प्रमुख सीताराम कोइरालाले मेलामा विद्यार्थी भर्ना गराउने, शुल्क र छात्रवृत्तिबारे जानकारी गराउने गतिविधि भएकाले त्यसैका आधारमा बन्द गराउन निर्देशन गरिएको बताए ।
शिक्षा मन्त्रालयको शैक्षिक परामर्श शाखाबाट अनुमति तथा जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरपालिकालाई जानकारी दिएर मेला आयोजना गरिएको आयोजकको भनाइ छ । ‘एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा पर्खिरहेका विद्यार्थी तथा तिनका अभिभावकले त्यसपछिको शिक्षाका बारेमा चासो राख्छन्, त्यसैले उपयुक्त अन्तरक्रियाको फोरमका रूपमा मेला आयोजना गरिएको हो, तर हाम्रो उद्देश्यलाई महानगरले सकारात्मक रूपमा लिन सकेको छैन,’ हिसान उपाध्यक्ष तथा मेला आयोजक टंकराज आचार्यले भने । आयोजकले विद्यार्थी भर्ना आकर्षित हुने गरी शुल्क विवरण वितरण नगर्ने, छात्रवृत्तिलगायतका विषयमा पनि जानकारी नदिने, शिक्षा मन्त्रालय र काठमाडौं महानगरपालिकाको निर्देशन अनुसरण गर्ने प्रतिबद्धतासहितको निवेदन महानगरलाई दिएका छन् ।
तर, शुक्रबारदेखि मेला हुने/नहुने विषयमा महानगरले कुनै निर्णय नदिएको आयोजकले जनाएका छन् । ‘महानगरको जवाफ कुरिरहेका छौं, मेयरसँग पनि कुरा हुन पाएको छैन,’ आचार्यले भने । शिक्षा विभाग प्रमुख कोइरालाले शुक्रबार बिहान पुनः एक पटक छलफलमा बस्ने सल्लाह भएको जनाए । ‘एसईईपछि मात्रै मेलाको अनुमति दिन सकिने निर्देशन आएको छ, यद्यपि यो विषयमा हामी बिहान सल्लाह गर्दैछौं,’ उनले भने ।
मेलामा कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयदेखि काठमाडौं विश्वविद्यालय, त्रिभुवन, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयबाट सम्बन्धन पाएका ७५ कलेजको सहभागिता छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा दिएर जेठ ३२ देखि असार ३ गतेसम्मका लागि मेला आयोजना गरिएको थियो ।
भूकम्प र कोभिडका बेलाबाहेक ७ वर्षदेखि यस्तै प्रकृतिको मेला जारी छ । आयोजकले विदेशी शिक्षण संस्थालाई स्टलसमेत राख्न दिएका छैनन् । ‘विदेश जान बाध्य विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा दिन सक्ने शिक्षण संस्था छन्, तिनलाई चिनाउन र सचेतनाका लागि मेला आयोजना गरिएको हो । तर यस्तो कार्यक्रम रोकियो भने दुर्भाग्यपूर्ण हुनेछ,’ हिसान वरिष्ठ उपाध्यक्ष युवराज शर्माले भने ।
SOURCE: KANTIPUR