मरणोपरान्त आँखा दान गरेका भिमबहादुरको डा. रुइतद्वारा प्रशंसा

खाँदबारी (संखुवासभा) — संखुवासभाको खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङ निवासी दिवंगत भिमबहादुर न्यौपानेको मरणोपरान्त दुवै आँखाको नानी दान गरिएको छ। जीवनभर सामाजिक कार्यमा सक्रिय न्यौपानेले आफ्नो निधनपछि पनि कसैको जीवनमा उज्यालो छर्न सकियोस् भन्ने पवित्र उद्देश्यले आँखाको नानी दान गर्ने घोषणा गरेका थिए।

उपचारको क्रममा असोज ५ गते निधन हुनुभएका न्यौपानेको आँखाको नानी दान गरिएको विषयलाई लिएर तिलगंगा आँखा प्रतिष्ठान तथा नेपाल आँखा बैंकका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले प्रशंसा गर्नुभएको छ। डा. रुइतले समाजमा यस्तो मानवीय र सार्थक कार्य गरेर दृष्टिविहीनहरूलाई पुन: दृष्टि प्रदान गर्दै न्यौपानेले अमरत्व प्राप्त गरेको बताउनुभयो।

दिवंगत न्यौपानेका छोरा नगेन्द्र न्यौपानेका अनुसार आफ्ना पिता भौतिक रूपमा नरहे पनि उहाँका दुईवटै आँखाले यस संसारलाई निरन्तर हेरिरहनेछन्। दृष्टिविहीनले पुनः दृष्टि पाउनु नै सबैभन्दा ठूलो र पवित्र पुण्यको काम भएको भन्दै उहाँले बुबाको इच्छा पूरा गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभयो।

त्यस्तै, नेपाल आँखा बैंकका प्रबन्धक शंखनारायण त्वायनाले दिवंगत न्यौपानेको यो योगदानको तिलगंगा आँखा प्रतिष्ठानले सधैं स्मरण गरिरहने बताउनुभयो। समाजमा अझै पनि आँखा दानसम्बन्धी चेतनाको कमी रहेको औंल्याउँदै उहाँले आम नेपालीले आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो।