प्रिन्सपन कार्कीको ‘फूल जस्तै रानीलाई’ सार्वजनिक

युवा कलाकार एवम् निर्देशक प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको नयाँ तीज गीत ‘फूल जस्तै रानीलाई’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–१ मा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाउँदै आएका कार्कीको बहुआयामिक नेतृत्व र सिर्जनात्मक सोचमा तयार यो गीतले यतिबेला साङ्गीतिक बजारमा राम्रो चर्चा कमाइरहेको छ।

गीतमा प्रेम, मौलिकता र तीजको उल्लासपूर्ण वातावरणलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। चर्चित गायिकाद्वय टीका मगर र मनिषा सुनारको सुमधुर स्वरले सजिएको यस गीतमा स्वयम् निर्देशक प्रिन्सपन कार्कीको उत्कृष्ट शब्द रचना रहेको छ। ज्ञानेन्द्र गिरिको मनमोहक सङ्गीत तथा मिक्सिङ र विशाल निरौलाको जादुयी सङ्गीत संयोजन (एरेञ्ज) रहेको यो गीत 'The Divine' स्टुडियोमा रेकर्ड गरिएको हो, जसको अडियो पक्ष अत्यन्तै कर्णप्रिय बनेको छ।

भिडियोको प्रस्तुति पनि उत्तिकै दमदार रहेको छ। नरेश अएरको बेजोड छायाङ्कन र अमृत चापागाइँको कसिलो दृश्य सम्पादनले भिडियोलाई थप जीवन्त बनाएको छ। भिडियोमा निर्देशक कार्कीसँगै मलाइका बस्नेत, सागर कार्की र अनिता थापाको ऊर्जावान् अभिनय एवम् मनमोहक नृत्य हेर्न पाइन्छ। 'प्रीसन्सा हाउस अफ प्रडक्सन' (Studio Prisansaa) र 'प्रिन्सपन कार्की फिल्म्स'को संयुक्त ब्यानरमा निर्माण भएको यस सिर्जनाले यसपालिको पर्वमा दर्शक तथा स्रोताको मन जित्नेमा कुनै शङ्का छैन।

यसअघि पनि थुप्रै सफल म्युजिक भिडियोमार्फत दर्शकको प्रशंसा बटुलिसकेका कार्कीका अन्य रोमाञ्चक साङ्गीतिक परियोजनाहरू पनि छिट्टै सार्वजनिक हुने क्रममा रहेका छन्।