मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

गुप्तचर प्रमुखको दौडमा ओम जोशीको बलियो दाबेदार

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को नेतृत्व फेरिन अब केही हप्ता मात्र बाँकी रहँदा सत्ताका शक्तिकेन्द्रहरू फेरि सक्रिय भएका छन्। विभागका वर्तमान प्रमुख हुतराज थापाको तीन वर्षे कार्यकाल भदौ अन्तिम साता सकिँदैछ, र नयाँ मुख्य अनुसन्धान निर्देशकको खोजी तीव्र भएको छ।
स्रोतका अनुसार, यसपटक प्रमुखका लागि दुई नाम चर्चामा छन्। ओम जोशी र एआइजी टेकेन्द्र कार्की। तर राजनीतिक समीकरण हेर्दा, नेपाली कांग्रेसको गहिरो सम्बन्ध भएका ओम जोशीलाई बलियो दाबेदारका रूपमा देखिएको छ।
जोशीको पृष्ठभूमि र राजनीतिक समर्थन
ओम जोशी तीन वर्षअघि पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए। त्यतिबेला उनको प्रतिस्पर्धी हुतराज थापा बनेका थिए। जोशी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। अहिले देउवा नेतृत्वमै सरकार भएकाले, जोशीको सम्भावना थप उच्च भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
जोशीको प्रशासनिक अनुभव, सुरक्षा क्षेत्रको ज्ञान, र पार्टीभित्रको विश्वासिलो छवि उनलाई अग्रस्थानमा पुर्‍याउने कारक मानिन्छ। कांग्रेसभित्र जोशीलाई ‘व्यावसायिक अनुशासन’ र ‘राजनीतिक स्थायित्व’ दुवै कायम गर्न सक्ने व्यक्ति भनेर वर्णन गरिन्छ।
कार्कीको चुनौती
जोशीका मुख्य प्रतिस्पर्धी एआइजी टेकेन्द्र कार्की हुन्, जसको एमाले नेताहरूसँग निकटता रहेको बताइन्छ। कार्की हाल विभागभित्र सक्रिय रहेका छन् र विभिन्न शक्ति केन्द्रहरूसँग भेटघाट गर्दै नियुक्तिका लागि आवश्यक सञ्जाल विस्तारमा जुटेका छन्।
थापाको विवादास्पद कार्यकाल
हुतराज थापाले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा प्रमुखको पद सम्हालेका थिए। पछिल्लो चरणमा उनले आरजु देउवा निकट सञ्जालमार्फत आफ्नो पद जोगाए पनि, उनको कार्यकालमा गुप्तचर विभागभित्र अनुशासनहीनता, आन्तरिक राजनीति, र संवेदनशील सूचना लीक जस्ता बेथितिहरू बढेको आरोप छ।
राजनीतिक ‘चलखेल’कै परम्परा
गुप्तचर प्रमुखको नियुक्ति सधैं राजनीतिक शक्ति सन्तुलनसँग जोडिएको रहन्छ। यो पद सामान्य प्रशासनिक जिम्मेवारी मात्र नभई प्रत्यक्ष रूपमा राष्ट्रिय सुरक्षा, संवेदनशील राजनीतिक सूचना र रणनीतिक निर्णयसँग सम्बन्धित हुने भएकाले, नियुक्तिमा सत्तारूढ दलहरूको सहमति निर्णायक हुने परम्परा छ।
हालको अवस्थामा कांग्रेस-एमालेबीच शक्ति सन्तुलन कायम राख्ने आवश्यकताले पनि अन्तिम निर्णयमा दुवै पक्षको मिलेमतो हुने सम्भावना बलियो छ। यद्यपि, कांग्रेसको नेतृत्वमा रहेको सरकार र देउवा निकटता भएकाले, राजनीतिक हावापानी जोशीतर्फ झुकेको देखिन्छ।