मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

वरिष्ठ कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा निधन

वरिष्ठ कवि, गीतकार तथा सङ्गीतकार प्रेम विनोद नन्दनको ९० वर्षको उमेरमा निधन भएको छ। उहाँको गएराति चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार नन्दन लामो समयदेखि श्वासप्रश्वास लगायतका स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो।

वि.सं. २०११ सालमा ‘झटारो’ गीति सङ्ग्रह प्रकाशित गरी नेपाली साहित्य र संगीत क्षेत्रमा प्रवेश गर्नुभएका नन्दनले गजल, कविता तथा लघुकाव्यमार्फत उल्लेखनीय योगदान दिनुभएको छ। चलचित्रका लागि लेखिएका उहाँका थुप्रै गीतहरू अत्यन्त चर्चित छन्।

उहाँका प्रमुख गीति तथा काव्य सङ्ग्रहहरूमा अञ्जली (२०२३), सपनीबाट ब्यूँझेर (२०२३), विपनीका पाइलाहरू (२०५२), ऐनाभित्रको आकाश (२०६३), सिद्धार्थको ग्रह त्याग (२०७४, लघुकाव्य), र पत्रम् पुष्पम् (२०७७, कविता सङ्ग्रह) पर्दछन्।

राष्ट्रिय गान छनोट प्रक्रियामा समेत उहाँको एक गीत उत्कृष्ट १० मा समावेश भएको थियो। औपचारिक शिक्षा कम भए तापनि नन्दनले नेपाली गीत, संगीत र साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको हो। उहाँ गायक, सङ्गीतकार तथा कलाकारको रूपमा पनि चिनिनुहुन्छ।

वि.सं. १९९२ साल जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिनुभएका नन्दन पछि चितवनको नारायणगढ स्थायी रूपमा बसोबास गर्न आउनुभएको थियो।

उहाँले छिन्नलता गीत पुरस्कार (२०५४), चिसाप प्रतिभा पुरस्कार (२०५२), चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार (२०६४), नारायणी प्रज्ञा पुरस्कार (२०७८) र राष्ट्रिय स्रष्टा सम्मान (२०७७) लगायतका विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो।

कवि नन्दनको पार्थिव शरीरको आज धार्मिक तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ। उहाँका श्रीमती, तीन छोरा र तीन छोरी छन्।