बारा र पर्सा जिल्लामा ८ लाखभन्दा बढी मानिसले हैजाविरुद्धको खोप लगाएका छन्। हैजा संक्रमण तीव्र भएपछि सरकारले गत असोज २६ गतेदेखि दुवै जिल्लामा खोप अभियान सुरु गरेको थियो।
परिवार कल्याण महाशाखाका अनुसार १० दिनको अवधिमा पर्सामा ५ लाख ४७ हजार ३११ र बारामा ३ लाख १७ हजार २४२ जनाले खोप लिएका छन्। यो संख्या मिलाउँदा हालसम्म करिब ८ लाख ६४ हजार मानिसले हैजाविरुद्धको खोप लिएका हुन्।
हैजा संक्रमण ६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१२ को मुरली टोलबाट सुरु भएको थियो। त्यसपछि वीरगञ्जका अन्य वडाहरू, पर्साका स्थानीय तहहरू र बाराका केही क्षेत्रमा संक्रमण फैलिएको हो।
सरकारले पर्साका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहमा एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप वितरण गरिरहेको छ। दुवै जिल्लामा गरी १० लाख १८ हजार जनालाई खोप दिने लक्ष्य लिइएकोमा हालसम्म करिब ८५ प्रतिशतले खोप लिएका छन्।
मुखबाट खुवाइने ‘इयूभिकोल–एस’ नामको यो खोप विश्व स्वास्थ्य संगठन (WHO) द्वारा गुणस्तर प्रमाणित हो र नेपाल औषधि व्यवस्था विभागमा दर्ता गरिएको छ। यो खोप एकपटक मात्रै खुवाइने गरिन्छ। यसअघि काठमाडौं उपत्यका र कपिलवस्तुमा पनि यही खोप अभियान सञ्चालन गरिएको थियो।
विज्ञका अनुसार, खोप खुवाएको दुई सातापछि यसको प्रभावकारीता करिब ८२ प्रतिशत देखिन्छ। तर, एक वर्षभन्दा कम उमेरका बालबालिकालाई यो खोप दिनु हुँदैन।
ज्वरो आएको, झाडापखाला भएको वा कुनै गम्भीर बिरामीको अवस्थामा खोप दिनु नहुने तर निको भएपछि खोप लिन सकिने स्वास्थ्यकर्मीहरूले जनाएका छन्।
